इन्द्रेणी संवाददाता
दाङ । कोरोना संक्रमितको संख्या बढ्दै जादा विभिन्न ठाउँमा भेन्टिलेटर र आईसियूको आभाव भइरहेका बेला दाङमा भने जनशक्ति नहुँदा जडान गरिएका भेन्टिलेटर र निर्माण गरिएका आईसियू प्रयोगविहीन भएका छन् ।
कोरोना विशेष अस्पताल वेल्झण्डीका सदस्य सचिव सर्वेश शर्माका अनुसार अस्पतालमा भएका पाँच ओटा भेन्टिलेटर र पाँच ओटा आईसियू वेडलाई सुचारु गर्न न्यूनतम पनि ३० जना डाक्टरको आवश्यकता पर्ने तर अहिले त्यो जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन ।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले पनि आवश्यक जनशक्ति नहुँदा प्रतिष्ठानमा जडान गरिएका भेन्टिलेटर र निर्माण गरिएका आईसियू वेड सञ्चालन गर्न नसकिएको बताए ।
‘अस्पतालमा एकजना ऐनिस्थेशियन हुनुहुन्छ, एक जनाले मात्रै भेन्टिलेटर सञ्चालन कसरी गर्न सकिन्छ ?’, उनले भने । आवश्यकता अनुसार जनशक्ति नहुँदा प्रतिष्ठानमा जडान गरिएका पीसीआर मेसिन समेत समय समयमा बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।
यसरी जिल्लामा भएका भेन्टिलेटर र आइसियू वेड जनशक्ति नभएका कारण प्रयोगविहीन भएपछि यहाँ आएका कोरोनाका जटिल विरामीलाई बुटवल, नेपालगञ्ज पठाउनुपर्ने वाध्यता रहेको छ ।