इन्द्रेणी संवाददाता
दाङ, १ भदौ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो जोखिमलाई दृष्टिगत गर्दै दाङमा आज साँझ ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । गएको शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी, गाउँपालिका प्रमुखहरू, सुरक्षा निकायमा प्रमुखहरू, विषयगत कार्यालयहरू, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले चाडपर्वको नाममा समाजमा बढिरहेको भीडभाडलाई नियन्त्रण गर्न निषेधाज्ञाको निर्णय लिएको हो ।
बैठकले चाडपर्वको नाममा समाजमा बढी रहेको भिडभाडलाई कम गर्न जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठि, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले दाङलाई कोरोनाबाट मुक्त राख्नका लागि राती पूर्णरूपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाय अवलम्बन गरिएको बताए ।