इन्द्रेणी संवाददाता
दाङ, ३० साउन । कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले चाडपर्वको नाममा समाजमा बढी रहेको भिडभाडलाई कम गर्न जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठि, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।
वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ । वैठकले जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरुसहितको जिल्ला अनुगमन समिति गठन गरेको वैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिएका छन् ।
यस विषयमा प्रमुख जल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोरोनाबाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजि गरिएको बताए ।