काठमाडौं, २८ साउन। नेपाली बजारमा बुधवार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ६ हजार २०० ले घटेको छ ।
मंगलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला १लाख १ हजार पुगेको थियो । मंगलवार पनि सुनको मूल्य प्रतितोला ८०० ले घटेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेंलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔंस २ हजार डलर नाघेको सुनको मूल्य बुधवार विश्वबजारमा प्रतिऔंस १ हजार ८९० दशमलव ५५ डलरमा झरेको छ ।
महासंघका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो । रासस