इन्द्रेणी संवाददाता
दाङ, २८ साउन । दाङको ऐतिहासिक क्षेत्र सुकौराकोटस्थित दंगीशरण दरबारको पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ सुकौराकोटमा रहेको उक्त दरबारको डीपीआर प्रदेश सरकारको सहयोगमा तयार पार्न लागिएको हो ।
अबको केही महीनामा त्यस क्षेत्रको विकासका लागि डीपीआर तयार गर्ने, दरबारको उत्खनन एवं अनुन्धानका लागि पुरातŒव विभागका टोलीलाई बोलाउने तयारी भइरहेकोे थारू नेता एवं प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताए । दरबारको संरक्षणका लागि प्रदेश सरकारबाट तत्कालका लागि ३० लाख बजेट विनियोजन भएको र बृहत् विकासका लागि झण्डै ५ करोडभन्दा बढी रकम आवश्यक पर्ने उनले जानकारी उनले दिए ।
करीब साढे २ हेक्टर क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको डीपीआर थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा तयार पार्ने सहमति भएसँगै यस क्षेत्रको संरक्षण एवं पर्यटन प्रवद्र्धनको काम अघि बढ्ने भएको छ । दंगीशरणको दरबारभित्र ‘बर्ड गार्डेन’ पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारकै सहयोगमा निर्माण भइरहेको उक्त पार्कमा राजा दंशीरशणको शालिक स्थापना गरिनेछ ।