इन्द्रेणी संवाददाता
दाङ, १८ साउन । केही दिनदेखि पूर्वसभामुख कृष्णबहादुर महरा आफ्ना मतदातासँग भेटघाट गर्दै दुःख सुखका भावना साटना गर्न व्यस्त छन् । कतै यातायातका साधन प्रयोग गरेर त कतै पैदल हिडेरै महरा मतदाताहरुसँग भलाकुसरी गरिरहेका छन् ।
यसैक्रममा आज महरा भौगोलिक हिसावले दाङको एउटा विकट क्षेत्र सैघा पुगेका छन् । उनी त्यो विकटतालाई छिचोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका जिल्ला कमिटी सदस्य मने विश्वकर्मा ‘उदय’ का बुबा जोगी विश्वकर्माको स्मृतिमा आयोजना गरिएको श्रद्धाञ्जीसभामा सहभागी हुने पुगेका हुन् ।
दाङ क्षेत्र नं. २ का सांसद समेत रहेका महराले जव त्यो विकट यात्रा शुरु गरे अनि उनको मनमा त्यो दशवर्षको जनयुद्धको यात्रा सम्झना पुगे । ‘यी विकटता हामीले जनयुद्धको समयमा छिचोलेकै हो, हामीले त्यतिवेलय हिड्ने बाटाघाटा पनि यस्तै हुन्थ्ये’, यात्राका क्रममा आफूसँगै गएका सहयात्रीहरुले सुनाए ।
घोराही उपमहानगरपालिकाभित्रै पर्ने त्यो विकट ठाउँमा पुगेर महराले आफ्ना मतदाताहरुसँग भलाकुसरी गरेका छन् । महरा त्यहाँ आफ्ना अंगरक्षक र नेकपाका सहकर्मी नेताहरुसँग पुगेका थिए । कोरोनाका कारण स्थगत गरिएको मतदाता भेटघाट कार्यक्रम महराले आइतवारदेखि शुरु गरेका छन् ।