Indrenionline.com

कपुरकोट र राप्ती राजमार्ग पहिरोको उच्च जोखिममा

दाङ, १८ साउन । राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको कपुरकोट क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । राजमार्ग र कपुरकोट बजार ६५ वर्षदेखि जोखिममा छ । तर त्यसको उचित व्यवस्थापन भने अहिलेसम्म पनि हुन सकेको छैन ।

६५ वर्षदेखिको पहिरोको नियन्त्रणका लागि राज्यले पहल नगरेपछि अहिले सडक र कपुरकोट बजार भासिन सुरू भएको छ । कर्णाली र प्रदेश नम्बर ५ दुई प्रदेशको सीमाना, तरकारीको उद्गमस्थल कपुरकोट बजार अहिले पहिरोको कारणले संकट र अत्यन्त जोखिममा छ । राप्ती राजमार्गको सल्यान–दाङ सडक खण्डको कपुरकोटमा रहेको खारा पहिरोका कारण राजमार्ग र बजार जोखिममा परेको हो ।

६ दशकदेखि वर्षाको समयमा नियमितरूपमा झरिरहने पहिरो रोकथामका लागि राष्ट्रियस्तरको योजना नआउनुले त्यसको असर राप्ती राजमार्गमा र कपुरकोट क्षेत्रमा परेको स्थानीयहरूको गुनासो छ ।

पहिरोलाई नियन्त्रणको प्रयास दीर्घकालिन रूपमा हुन नसकेको कारणले राप्ती राजमार्गको सल्यान–दाङ सडकखण्ड समेत भासिन थालेको छ । यसलाई अझै रोक्न पहल नभएमा पूर्णरूपमा राजमार्ग पहिरोमा विलय हुने प्राय निश्चित जस्तै छ ।

सो सडक खण्डमा रहेर लामो समय काम गरेका इन्जिनियर शिव नेपालले यसलाई रोकथाम गर्न विशेष अध्ययनको आवश्यकता भएको बताए । जमिनमुनिको समस्याले यस्तो भएको हो यसलाई पत्ता लगाउनलाई विशेषज्ञसहितको टोलीले अध्ययन गर्न जरूरी छ’

उनले भने ‘तीन पहाडको संगम भएको र माटो कमजोर भएकाले यो क्षेत्र अति जोखिममा छ । जिल्लास्तरमा पनि यसलाई अति जोखिममा राखेर संरक्षणको काम भइरहेको छ ।’

सडक इन्जिनियरहरूले पहिलोको संरक्षण नगरे तीन÷चार वर्षका कपुरकोट पूरै जोखिममा रहने र ठूलो धनजनको क्षति हुने बताइरहेका छन् । ‘कपुरकोट पूर्णरूपमा जोखिममा रहेको छ त्यसको संरक्षणको योजना सञ्चालन गर्दा ठूलो रकम खर्च हुन्छ त्यस कारण पनि अब बस्ती स्थानान्तर गर्नुपर्छ’ जिल्ला भूसंरक्षण कार्यालय सल्यानमा पूर्वप्रमुख शेषदत्त चौधरीले भने । क्षति घटाउन बस्ती नै उठाएर अर्को ठाउँमा सार्नु पर्ने देखिन्छ ।

सल्यान जिल्लाको सबैभन्दा ठूलो पहिरो कपुरकोट खारा पहिरोले राजमार्ग छुन केही मिटर मात्रै बाँकी रहेको छ । यसलाई नियन्त्रण र रोकथाम नगरेमा अबको केही वर्षमै राप्ती राजमार्गको सो सडकखण्ड पूर्णरूपमा विलय हुने जिल्ला भू–संरक्षण कार्यालय पूर्व प्रमुख शेषदत्त चौधरीले बताए ।

कपुरकोटमा दिनानुदिन बढिरहेको कपुरकोट खारा विशाल पहिरोले राजमार्गलाई क्षति गरेर बगाएमा सल्यान, दाङ, रोल्पा, रूकुम, जाजरकोट डोल्पालगायतका जिल्लाहरूको केन्द्रीय सम्पर्कलाई टुटाउने छ भने आवतजावत समेत बन्द हुने तथा लाखौ नागरिकहरू मर्कामा पर्ने निश्चित छ ।

राप्ती राजमार्ग अहिले यि जिल्लाहरूको मुख्यद्वारका रूपमा रहेको छ । यसैगरी कपुरकोट र त्यहाँ रहेको बस्तीमा असर गरे त्यसको प्रभाव दाङको तुलसीपुर बजारमा समेत ठूलो क्षति हुने बताए । राप्ती राजमार्गको कपुरकोटको दक्षिणतिर रहेको पहिरोले राजमार्गलाई मात्रै नभएर जिल्लाका केही सरकारी कार्यालय तथा स्थानीय बजारलाई समेत संकटमा राखेको छ ।

राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रमको कार्यालय, सल्यान रोल्पा सडक, कपुरकोट बजारमा समस्या छ । करिब ६५ वर्ष अघिदेखि सुरू भएको पहिरो ७०० मिटर लम्बाई र ३०० मिटर चौडाई तथा ३० मिटर गहिराई रहेको छ प्रदेश टुडेमा गोपाल शर्मा भट्टराईले लेखेका छन्।