काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले ‘तामाङ जातिका परम्परागत नृत्यहरुको कार्याशाला’ आयोजना गरेको छ । राजधानीमा आयोजित कार्यशालामा कलाकारहरुले तामाङ जातिका परम्परागत नृत्यहरु प्रस्तुत गरेका थिए । दोलखा, सिन्धुपाल्चोक र रामेछापका कलाकारहरुले डम्फु र टुङ्नाको तालमा ताम्बा नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यका बारेमा ताम्बा सङ्घका अध्यक्ष एवं कलाकार दावा वाङ्गेल मोक्तान र संस्कृतिकर्मी क्रान्ति योन्जनले प्रकाश पारेका थिए ।
कुलपति सरुभक्तले तामाङ विशिष्ट संस्कृति भएको जाति उल्लेख गर्दै तिनको कला, संस्कृति र परम्पराहरुको संरक्षण तथा संवद्र्धन गर्न प्रतिष्ठान लागिपरेको बताए । प्राज्ञ तथा नृत्य विभाग प्रमुख माधव प्रधानले लोप हुने अवस्थामा रहेका तामाङ जातिका यी नृत्यहरु राज्यका अमूल्य निधि भएको बताउँदै तिनको अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । उनले कार्यशालामा प्रस्तुत नृत्यहरुबारे श्रव्यदृश्यचित्र निर्माणका साथै पुस्तकका रुपमा पनि प्रकाशन गरिने योजना रहेको बताए ।