Indrenionline.com

आफ्ना प्रशासकीय अधिकृत घुससहित पक्राउ परेपछि मेयरले दिए यस्तो प्रतिक्रिया

इन्द्रेणी संवाददाता
तुलसीपुर, १७ साउन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेपछि मेयर घनश्याम पाण्डेले दोषीमाथि कारावाहीको हुनुपर्ने बताएका छन् ।

मेयर पाण्डेले आज एक विज्ञप्ति निकालेर प्रशासकीय अधिकृतलाई घुस लिएको आरोपमा साउन १६ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएकोप्रति ध्यानाकर्षणभएको जनाउदै दोषीमाथि कारवाही हुनुपर्ने बताएका छन् ।

‘तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई मिति २०७७ साउन १६ गतेका दिन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौ जाँदै गर्दा नाँगढुंगाबाट पक्राउ गरेको खबरप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तुलसीपुर उपमहानगरपालिकामा हामी निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अनुसार काम गरिरहेका छौ ।’

विज्ञप्तिमा मेयर पाण्डेले यो ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको पनि उल्लेख गरेका छन् ।