उदय बीसी
दाङ, १५ साउन । दाङको घोराहीमा निर्माण हुन लागेको वायोग्याँस प्लान्टको भौतिक निर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइडको करीव ३ विगाह क्षेत्रफलमा ग्याँस प्लान्ट निर्माण भएको हो ।
लकडाउनका कारण ग्याँस उत्पादनका लागि भारतबाट आउने प्रविधिसँग जोडिएका (मेसिनरी) सामग्री नआएका कारण अन्य काम अघि बढाउन समस्या रहेको नेपाल उर्जा विकास कम्पनी प्रालिले बताएको छ । ती सामान आउनसाथ ग्याँस उत्पादनका लागि प्राविधिक काम शुरु हुनेछ । सहजरुपमा प्रविधिका सामान आएपनि आउदो कार्तिक महिनासम्म ग्याँस उत्पादन गर्न सकिने म्यानेजर श्रेष्ठले बताए ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले करीव रू. २० करोडको लगानीमा प्लान्ट निर्माणाधिन उक्त ग्याँस प्लान्टको २०७५ मंङ्सिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
प्लान्ट सञ्चालनमा आएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्याँस उत्पादन हुने छ भने २० टन कम्पोष्ट मल उत्पादन हुनेछ । जसका लागि नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको छ । सभ्mौता अनुसार २० वर्षसम्म कम्पनीले आफै ग्याँस उत्पादन गरेर विक्री गर्ने छ भने कारोवारको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई रकम दिनुपर्ने छ । २० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । ग्याँस प्लान्टमा नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र ४० प्रतिशत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको लगानी छ ।