Indrenionline.com

सहिद गुम्रा थारु ६० औं स्मृति दिवस : शासकको गोलीबाट खेतमै ढलेका किसान सहिद गुम्रा थारु

इन्द्रेणी डेस्क
दाङ, ६ साउन । किसान आन्दोलनका एउटा महत्वपूर्ण पात्र मारिएको आज करीव ६० वर्ष पुगेछ । जतिवेला साशकहरुले किसानहरुमाथि चरम दमन गर्थे । उनीहरुलाई आफ्नै खुट्टामुनी दवाइ राक्ने प्रयास गर्थे । तर पनि किसानहरु ती शासकहरुका दमनलाई चिर्दै अघि बढ्थे । त्यसै आन्दोलनका एक महान योद्धा हुन् दाङ बेलुवा बञ्जारीका गुम्रा थारु ।

कुनै वेलामा बेलुवा बञ्जारीमा यस्तो थियो न त्यहाँ प्रहरी छिर्ने हिमत गथ्र्याे त न तत्कालिन नेपाली सेना । २०१७ सालको कुरा हो बञ्जारीमा शासकहरुबाट किसानहरुमा अत्यन्त दमन भयो । दमनका विरुद्ध त्यहाँका किसानहरु खरो उत्रिए । शासक प्रशासकको वलमा यहाँको किसान आन्दोलनलाई जमिनदारहरुले दवाउन अचाखली प्रयास गरे । त्यतिवेलाका किसान आन्दोलनका अगुवा थिए गुम्रा थारु ।

किसनाहरुको एकताका कारण आन्दोलन सफलतातर्फ गएको थियो । विगत १० वर्षदेखि जारी किसान आन्दोलनमा निडरका साथ किसानहरु अन्यायका विरुद्ध कफन बाँधेर लड्दै गएका थिए । त्यतिवेलै किसान आन्दोलनका अगुवा गुम्रा थारुले खेतमै ज्यान गुमाउनु प¥यो । ती तत्कालिन शासकका लठाइतहरुले गुम्रा थारुको छात्तीमा गोली बर्साए ।

यसैदिनको आज ६० औं दिन पुगेको छ ।सहिद किसान नेता गुम्रा थारु ६० औं स्मृति दिवस दाङलगायत विभिन्न ठाउँ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । आज घोराहीको ट्राफिक चोकमा रहेको सहित गुम्रा थारुको सालिकमा माल्यार्पण गरेर ६० औं स्मृतिको सम्झाना गरिएको छ ।

सांसद सुजिता शाक्य नेपाल कम्युनिष्ट पाटी नेकपा दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का नेकपा दाङ जिल्ला सचिव सुवास पुन नेकपाका नेता दाङ सुरामणी बेलवासे नेकपा प्रदेश ५ सदस्य लक्षमण आचार्यलगायतले सालीकमा माल्र्यापण गरेका थिए । नेपाली कम्युष्टि आन्दोलन एवं किसान आन्दोलनका अगुवा सहिद थारुलाई यही स्मृतिका दिनभन्दा अन्य दिनमा सम्झना गरेको कमै पाइएको छ । किसान आन्दोलनकै क्रममा २०१७ साउन ६ गतेका दिन खेतमै हत्या गरिएका सहिद गुम्रा थारु अहिले पनि किसानहरुको मनमनमा छन् ।

को हुन् गुम्रा थारु ?
गुम्रा थारु घोराही उपमहानगरपालिका–३ बेलुवा वञ्जारीका गरिब किसान हुन् । तत्कालिन किसान संघ सदस्यसमेत रहेका गुम्रा थारु निकै सोझा, इमान्दार र लगनशील थिए । वि.स. १९६५–१९७५ को बीचमा लालु चौधरीका माइला छोराको रुपमा जन्मिएका थिए गुम्रा थारु । उनी सामान्य लेखपढ गर्नसक्ने तर निकै चलाख थिए । किसानहरूको पक्षमा सशक्त आवाज उठाउने एक क्रियाशील र सिर्जनशील युवा थिए ।

कसरी मारिए गुम्रा थारु
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माको अनुसार दाङमा जमिन्दारविरुद्ध ठूलो किसान आन्दोलन भएको थियो ।

किसान संघको अगुवाइमा झन्डै १० वर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुग्यो। सोही आन्दोलनकै क्रममा २०१७ साल साउन ६ गतेका दिन जमिन्दारहरूले वर्षातको समयमा खेत जोत्न नदिएपछि जबरजस्त रूपमा किसानहरू खेतमा गएर जोत्दै थिए ।

जमिन्दार र प्रहरीले रोक्न खोज्दखोज्दै पनि खेतमा हलो जोतिरहेपछि गुम्रा थारुमाथि जमिन्दारले प्रहरीलाई गोली चलाउन आदेश दिए। लगत्तै प्रहरीले गुम्रा थारुमाथि गोली चलायो । प्रहरीले गोली चलाउन थालेपछि गुम्रा थारुले पनि आफ्नो कम्मरमा झुन्ड्याएको हँसियाले प्रतिकार पनि गरे तर बन्दुकको नालमा उनको हँसियाले केही प्रतिकार गर्न सकेन। अन्ततः उनलाई प्रहरीले गोली हानी हत्या ग¥यो। त्यहीं जोत्दा जोत्दै गुम्रा थारु खेतमै ढले ।

यो लेख थारु पत्रकार सन्तोष दहितको आलेख एवं गुम्रा थारुका बारेमा प्रकाशन भएका विभिन्न समाग्रीहरुको आधारमा तयार पारिएको हो ।