Indrenionline.com

न्यायिक समितिमा जनविश्वास बढ्दै, एक वर्षमा १५४ उजुरी

इन्द्रेणी संवाददाता
दाङ, २५ असार । दाङको घोराही उपमहानगरपालिकामा वितेको एक वर्षमा विभिन्न प्रकृतिका १५४ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा उपमहानगरपालिकाको न्यायिक समितिमा करीव एक दर्जन प्रकृतिका १५४ मुद्दा दर्ता भएको र सो मध्ये ७९ वटाले किनारा पाइसकेका छन् ।

आज विहीबार न्यायिक समितिले पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी सम्पादन गरिएका न्याय सम्बन्धि गतिविधिको जानकारी दिएको छ । वर्षभरीमा समितिमा सबैभन्दा बढी ४१ वटा जग्गा रोक्का एवं खाता रोक्का सम्बन्धी उजुरी परेको र ती मध्ये ३ वटा फछ्यौट भइसकेको न्यायिक समितिकी संयोजक एवं उपमेयर सीता सिग्देल न्यौपानेले जानकारी दिइन् ।

त्यसैगरी लेनदेनका २८ वटा, घरेलु हिंसाका १५ वटा, जग्गा विवाद सम्बन्धी ३१ वटा, अन्य २०, वातावरण सम्बन्धी ३, जग्गा रोक्का÷खाता रोक्का सम्बन्धी ४१, मानाचामल सम्बन्धी १४, कुलोपानीका १ वटा र गाली वेइज्यती सम्बन्धी एउटा उजुरी परेका छन् । त्यसभन्दा पहिलेको जम्मेवारी सरी आएका १२६ मुद्दा रहेको र त्यसमध्ये १०७ वटा मिलापत्र भइसकेको संयोजक न्यौपानेले जानकारी दिइन् ।

सो अवसरमा बोल्दै उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पछिल्लो चरणमा उपमहानगरपालिकाभित्रको न्यायिक समितिमा पनि जनविश्वास बढ्दै गएको बताए । साथै न्यायिक समितिले पनि यहाँ दर्ता हुन आउने प्रकृतिका मुद्दालाई जनअपेक्षा अनुसार किनारा लगाउने गरेको उनको भनाइ थियो ।