नवीन अभिलाषी
दाङ । अन्र्तराजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरुद्ध दाङका दलितहरु पनि आन्दोलित बनेका छन् । अहिलेसम्म ५ जनाको शव भेटिएको छ भने अझै १ जना वेपत्ता छन् । मल्ल थर भएकी युवतीलाई प्रेम विवाहका लागि लिन पुगेका जाजरकोट भेरी नगरपालिकाका २१ वर्षीय नवराज विक र उनका साथीहरुको हत्याको विरोधमा दाङका दलित नेता तथा अधिकारकर्मी आन्दोलित बनेका हुन् ।
अहिलेको प्रतिकुल अवस्थामा दलित समुदाय माथि भएको यो अहिलेसम्मकै क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविन गर्न सरकारलाई जोडदार रुपमा दाङ जिल्ला दलित संघर्ष समितिले माग गरेको छ । भेला पछि प्रेस विज्ञप्ती जारी गर्दै समितिले रुकुम घटनाको भ्रत्सना गरेको छ । ‘वेपत्ताको यथासक्य खोजी गरी उनीहरुको अवस्था सार्वजनिक गर्न सम्वन्धित निकायलाई आग्रह गदै, यस घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नं. ८ का अध्यक्ष, केटी पक्षका आमाबुवा र गाउँले सबैलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम हदैसम्मको कानुनी कार्वाहीको माग गर्दै पीडित परिवारलाई कानुनी राज्यको अनुभुति दिलाउन सम्वन्धित निकायको ध्यानाकर्षण गराँउनुको साथै जनताको प्रतिनिधिले पदको ध्वजी उडाई संविधानको खिलापमा तथ्य मोड्ने गरी अभिब्यक्ति दिएर सिङ्गो दलित समुदायमाथि गरेको अपमानप्रति आपत्ती जनाउँदै छानवीनको दायरामा ल्याउँन सरकारसंग यसै विज्ञप्ती मार्फत माग गर्दछौ ।’
अन्तरजातिय प्रेम सम्वन्धले ज्यान गुमाउँने विक पहिलो व्यक्ति नभएको भन्दै समितिले अब यस्ता न्यायको पर्खाइमा बस्ने दलितको मुर्दा कति बनाउँनु पर्ने हो ? कति हत्या हुनुपर्ने हो ? भनि प्रश्न गरेको छ । ‘यस्ता समस्या यसरी नै बढ्दै जाने र राज्यको ध्यान नपुग्ने नै हो भने संबैधानिक व्यवस्था भएको र संयूक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएको यो राष्ट्रले यस्को मुल्य महङ्गो चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातिय छुवाछुतको सवालमा सुन्य सहनशिलता प्रभावकारी रुपमा कार्यान्वन गरियोस् ।’
पुर्वसांसद शारदा स्वर्णकार, दलित मुक्ति संगठनका कार्यदल सदस्य टंक सुनार, जगत दलामी, नवीन अभिलाषी, हिरालाल सुनार, नेपाल दलित संघका अध्यक्ष बाबुराम विश्वकर्मा, समता समाजका बलदेव विक, दलित पत्रकार जनक नेपाली, कानुन व्यवसायी गोपाल नेपाली, दलित अधिकारकर्मी तथा भुमि अधिकार मञ्चको अभियान्ता निर्मला विक, व्यवसायी तथा अधिकारकर्मी धु्रवराज गहतराज, दलित नेता बासुदेव विश्वकर्मा, कृष्ण नेपाली, उमेश विक शंकर नेपाली, ज्ञानबहादुर विक, परिवार सेवा समाजका केन्द्रिय सदस्य केशव परियार लगाएतका दलित नेताहरुको सहभागीता रहेको थियो । समितिले भोलि ११ बजे जिल्ला प्रशासन मार्फत नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउने समितिका संयोजक मानबहादुर विश्वकर्माले बताउनुभयो ।
दलित विद्यार्थीको प्रदर्शन
रुकुम पश्चिममा भएको जातिय विभेद घटना विरुद्धको विरोधमा तुलसीपुरमा प्रदर्शन भएको छ । कांग्रेस निकट दलित विद्यार्थी संघ दाङले घटनाका दोषिलाई कार्बाहीको माग गर्दै तुलसीपुरमा प्रदर्शन गरेको हो । संघले बिहिबार बिहान तुलसीपुरमा जातिय विभेदको अन्त्य गर,रुकुम पश्चिमको घटनाको सत्य तथ्य छानबिन गर, पिडितलाई न्याय दे, दोषिलाई कार्बाही गर लगायतका नारा लगाउदै प्रर्दशन गरेको हो ।
प्रदर्शनमा दलित विद्यार्थी संघ दाङका अध्यक्ष कलसिं बिक, तरुणदल दाङका अध्यक्ष टिका घर्ती, नेविसंघ जिल्ला सहसचिव जितेन्द्रप्रकास वली, दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष खेम विश्वकर्मा, दलित संघ क्षेत्र नम्बर पाँचका सभापति धुब्र विश्वकर्मा लगायतले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कार्बाहीको माग गरेका छन् । तुलसीपुरको विपि चोक, जेसिज चोक लगायतका ठाँउमा प्रदर्शन गरिएको हो । घटनामा मारिएका व्यक्तिको परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति दिन तथा बेपत्ताको खोजी गर्न समेत संघले आग्रह गरेको छ ।