घोराही, ४ जेठ । कोभिड–१९ सन्दर्भमा गठन भएको मानव अधिकार अवस्था अनुगमन नेटवर्क दाङले जिल्लामा अहिलेसम्म मानव अधिकारको अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
यसैगरी कोरोना संक्रमितहरु बढ्न सक्ने भएकाले क्वारेन्टाइनहरु बढाउन, व्यवस्थित गर्न पनि नेटवकले सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । नेटवर्कका जिल्ला संयोजक सविन प्रियासनको अध्यक्षत्तमा बसेको वैठकले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनले उच्चत्तम सजगता अपनाएको, यस अवधिमा प्रहरीले मानव अधिकार हनन् हुने गरी आफ्ना गतिविधिहरु नगरेको, स्वास्थ्यकर्मीहरुले आफ्नो जिउज्यानको प्रवाह नगरेर स्वास्थ्य उपचार दिएको, सञ्चारकर्मीलगायतका सरोकारवालाहरुले पनि राम्रो भूमिका निर्वाह गरेकोमा नेटवर्कले सबैलाई धन्यवाद दिएको छ ।
सामाजिक दुरी कायम राखेर बसेको वैठकमा नेटवर्कका सदस्यहरु जिल्लाबारका अध्यक्ष शिवप्रसाद घिमिरे, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय महासचिव लक्ष्मी आचार्य, गैससका निवर्तमान अध्यक्ष साजीदा सिद्दिकीले जिल्लाको मानव अधिकारको सवालमा धारणा राखेका थिए ।
वैठकले जिल्लास्थित कोरोना अस्पतालहरु, गाउँपालिका अनि यहाँ रहेका क्वारेन्टाइन स्थलहरुको स्थलगत अध्ययन गर्ने, नियमितरुपमा भिडियो कन्फ्रेन्स, च्याट, फोन मार्फत वैठक बस्ने, संकलित सूचनालाई एकीकृत गर्नेलगायतका निर्णयहरु गरेको छ ।