दाङ, ४ जेठ । डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यूफिट भन्दा बढी चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आज आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।
‟काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन ”— घटनास्थलमा रहेका सहायक वन अधिकृत चौधरीले भने– ‟लकडाउनको मौका छोपि बिक्रि गर्ने उद्देश्यले काटिएको हुन सक्छ ।” गस्ति टोली आउदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेको कार्यालयले जनाएको छ ।
दुई वटा घोरलको छाला बरामद
सालको काठसगै वन गस्ति टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ । दुई वटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बराले जानकारी दिनुभयो । दुवै घटनाबारे छानविन भइरहेको र दोषिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।