Indrenionline.com

कोरोना परीक्षणको दायरा बढाउदै स्वास्थ्य कार्यालय

इन्द्रेणी संवाददाता 

दाङ २७ बैशाख । विश्वभर कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला संक्रमितको पहिचान गरि कोरोना नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय दाङले परीक्षणको दायरा बढाएको छ ।

कोरोनाको सन्त्रास नेपालमा दिनानुदिन बढिरहेको बेला जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न जिल्ला स्वास्थ्य कार्यालयले कोरोना परीक्षणमा व्यापकता बढाएको हो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको संख्या बढिरहेको भन्दै भारत बाट खुल्ला सिमानाका कारण नेपालीहरु भित्रन नछाडेकाले जिल्लामा प्रवेश गरेका आयातितहरुलाई जिल्लाका विभिन्न पालिकाले बनाएका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको कोरोना परिक्षण गर्न शनिबार १०० जनाको स्वाव लिइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी दिइन ।

स्वास्थ्य कार्यालय प्रमुख पौडेलका अनुसार हाल जिल्लाका विभिन्न पालिकामा गएर क्वारेन्टाइनमा बसेका आयातितहरुको स्वाव लिइएर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाको स्वाव लिने क्रममा स्वास्थ्य कार्यालय प्रमुख पौडेलको नेतृत्वको टोलीले आज शनिबार तुलसीपुर उपमहानगरपालिकाका ४१ जना शान्तिनगर गाउँपालिकाका १० र  बबई गाउँपालिकाका ४९ जना गरि १०० जनाको स्वाव लिइएको हो ।

कोरोनाका लागि जोखिम क्षेत्र मानिएपनि दाङ हाल सम्म सुरक्षीत भएको र दंगालीहरु सजग भए आगामी समयमा पनि  सुरक्षित रहने भन्दै कसैलाई पनि कोरोना सम्बन्धि गलत अफवाह नफैलाउन र आम दंगाली लाई भयभित नहुन समेत स्वास्थ्य कार्यालय प्रमुख पौडेलले अनुरोध गरिन ।