घोराही, १० बैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अगुवाइमा घोराहीका दुईवटा वडाका विपन्न बस्तीहरुमा २२३ बोरा चामल र अन्य खाद्यान्न सामग्री वितरण हुने भएको छ ।
प्रियासनले घोराही–१३ स्थित शुभ विहानी टोलका ८३ घरपरिवार, सोही वडाका दुर्गा भवानी टोलका ८० घरपरिवारका लागि १६३ बोरा चामल, सबैका लागि १६५ किलो दाल, १६५ पोका नून, १६५ पोका तेल, ६५ किलो २०० ग्राम स्वायबडि वितरण गर्नका लागि राहत संकलन गरेका छन् ।
यसैगरी प्रियासनले घोराही १५ स्थित न्यूरोडमा बस्ने १७ घर, सोही वडाको नव विहानी टोलमा बस्ने २१ घर, सोही वडाको माथिल्लो सृजनशील टोलमा बस्ने १६ घर गरी ५३ घरपरिवारका लागि ५३ बोरा चामल वितरण गर्नका लागि राहत संकलन गरेका छन् ।
यसैगरी घोराही १५ स्थित प्रकृति नगरमा बस्ने ३५ जना विद्यार्थी एवं श्रमिकका लागि ७ बोरा चामल, ३५ किलो दाल, ३५ किलो चिउरा, ३५ पोका नून, ३५ पोका तेल, १४ किलो स्वायबडि संकलन गरिएको छ ।
संकलित राहत मध्ये वडा नम्वर १३ मा वैशाख ११ गते र १५ वडामा त्यसपछि राहत वितरण गर्ने कार्यक्रम रहेको प्रियासनले जानकारी दिए । संकलित राहतलाई प्रियासनले घोराही उपमहानगरपालिकाको राहत कोषमा हस्तान्तरण गरे ।
संकलित राहतको विवरण बुझ्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अफ्ठ्यारो अवस्थामा रहेका वर्गसमुदायका लागि राहत संकलन गरेर एकद्धार प्रणालीमा जोडिएको प्रियासनलाई बधाई दिँदै सहयोग गर्ने संघसंस्था एवं दात्ताहरुलाई धन्यवाद दिएका थिए ।