Indrenionline.com

चार जना सिकारी हतियारसहित पक्राउ

दाङ, १० बैशाख । डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ ।

मंगलबार दिउसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट ४ जना सिकारी, उनीहरुले प्रयोग गरेको ४ वटा मोटरसाइकल र १ थान भरुवा बन्दुक सहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् । वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले बताए ।

डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तीमा गएको थियो । वन क्षेत्रको ५ स्थानमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिएपछि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताए ।