Indrenionline.com

अत्यावश्यक वाहेक सबै व्यावसायी बन्द गर्न दाङ उद्योग वाणिज्य संघको आग्रह

इन्द्रेणी संवाददाता
दाङ, १० चैत । विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) बाट वच्न पूर्वसतर्कता स्वरुप दाङ जिल्ला उद्योग वाणिज्य संघले अत्यावश्यक व्यवसायवाहेक सबै व्यवासय बन्द गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले एक वक्तव्य जारी गर्दै सोमवार (चैत १० गते) देखि अर्काे सूचना जारी नहुँदासम्म केहीदिनका लागि सबै व्यवसाय बन्द गर्न आग्रह गरेका हुन् ।

संघले दैनिक उपभोग्य बस्तु, औषधि पसल, एल.पि.जी.ग्याँस, खानेपानी, पेट्रोलियम पदार्थका उद्योग, होटललगायतका अत्यावश्यक पसलहरु वाहेक अन्य सबै उद्योगधन्दा, व्यवसाय बन्द गरेर सरकारले कोरानो भाइरसबाट वच्नका लागि अपनाएको पूर्वसतर्कतामा सहयोग गरिदिन जिल्लाका सबै व्यवसायीहरुलाई आग्रह गरेको हो ।

साथै वक्तव्यमा अत्यावश्यक कामवाहेक अन्य समयमा घरबाट वाहिर ननिस्कन पनि आग्रह गरेको छ । साथै संघले महामारीको रोकथापका लागि २ लाखको राहातकोष स्थापना गरेको पनि जनाएको छ ।