दाङ, २९ फागुन । बढ्दो गर्मीसँगै वनमा डढेलोको जाखिम बढ्ने भएकाले यसको नियन्त्रणका लागि दाङमा ‘शून्य वन डढेलो महाअभियान’ शुरू गरिएको छ । डिभिजन वन कार्यालय, दाङले जिल्लाका डढेलोको उच्च जोखिममा रहेका वनको नक्सांकन गरेर यो अभियान शुरू गरेको हो ।
शून्य वन डढेलो महाअभियानको पहिलो चरणमा डिभिजन वन कार्यालय दाङ मातहतका ८ ओटा, सब–डिभिजन वन कार्यालयलाई तीनओटा जोखिम क्षेत्रमा विभाजन गरी ती क्षेत्रमा पर्ने सवै वन समूहलाई वन डढेलोको संवेदनशीलताका आधारमा जोखिम क्षेत्र पहिचान गरी वन डढेलो जोखिम नक्सा तयार गरिएको छ ।
जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ, जसअन्र्तगत उच्च जोखिममा ८३ ओटा वन समूह परेका छन् । त्यस्तै, मध्यम खालको जोखिममा ४६ र सामान्य जोखिम क्षेत्रमा ४४ ओटा वन समूह रहेको प्रमुख डिभिजनल वन अधिकृत ज्ञवालीले बताए ।
यी वन समूहमध्ये ९२ ओटा वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय छन् भने ८१ ओटा वन समूह वन डढेलो नियन्त्रणका लागि निष्क्रिय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिका अन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । त्यस्तै बंगलाचुली र दंगीशरणका गाउँपालिका अन्तर्गतका वन क्षेत्र मध्यम जोखिममाका साथै तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा छन् ।