तुलसीपुर, ७ फागुन । प्रदेश नम्वर ५ ले फागुन १० देखि १२ गतेसम्म गर्न लागेको प्रदेश एक्स्पोलाई भव्य वनाउनकालागि तुलसीपुर उपमहानगरपालिकाले तयारी तिव्रताका साथमा अगाडि वढाएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न सरोकारवाला निकायसँग छलफललाई अगाडि वढाएका छन् । उनले वुधवार विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अलग अलग भेट गरेर सहभागिताकाका लागि आग्रह गरेका हुन् ।
यातायात समितिकोतर्फबाट प्रतिवद्धता व्यक्त गर्दै त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले यातायात व्यवस्थापनका लागि सबै समितिसँग सहकार्य गरेर अगाडि वढ्ने वताए । उनले एक्स्पोलाई मध्यनजर गरेर भाडामा समेत हेरफेर गरिने प्रतिवद्धता जनाए ।
यसैविच उपमहानगरपालिकाले सडक व्यवस्थापनका लागि ट्राफिकहरुसँग पनि छलफल गरेको छ । छलफलका क्रममा नगरप्रमुख पाण्डेले ट्राफिकहरुलाई जनशक्ति व्यवस्थापन गरेर सडक व्यवस्थित गराउनुपर्ने कुरामा जोड दिए । उनले आवश्यक पर्ने सामग्री उपमहानगरपालिकाले सहयोग गर्ने वताउँदै मनलाग्दो गर्नेलाई कारवाही समेत गर्नुपर्ने कुरामा जोड दिए । छलफलका क्रममा ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख नन्दकुमार पोख्रेलले सडक व्यवस्थापनका लागि आफु प्रतिवद्ध रहेको कुरामा जोड दिए ।
यसैविच महोत्सवको अवसर पारेर उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिले वन उद्यमका वारेमा वृहत कार्यशाला गर्ने भएको छ । वनलाई उद्यमसँग जोड्नका लागि जिल्ला वन कार्यालय, सामुदायिक वन , पारिवारीक तथा निजी वन लगायतको संलग्नतामा कार्यशाला गरिने समितिका संयोजक नवराज लामिछानेले वताए । यसैविच कार्यशालाका वारेमा तुलसीपुरमा वृहत छलफल समेत गरिएको छ । जिल्ला वन अधिकृत दिपक ज्ञवालीले कार्यशालालाई भव्य वनाउनका लागि सबैको सहकार्य आवश्यक पर्ने कुरामा जोड दिएका थिए ।
उपमहानगरपालिका शिक्षा शाखाले एक्स्पोमा विभिन्न आकर्षक झाँकी प्रस्तुत गर्नका लािग विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।
तुलसीपुरको संस्कृति सवैतिर फैलाउनका लागि महोत्सव निकै महत्वपूर्ण अवसर भएको भन्दै शिक्षा समिति संयोजक देवराज विकले विभिन्न विद्यालयहरुलाई निर्देशन दिएका हुन् । उनले एक्स्पोका क्रममा विद्यार्थीका विभिन्न प्रतिभा समेत प्रस्फुटन गराउनका लािग स्टल राख्न आग्रह गरेका छन् ।