Indrenionline.com

महराले सफाइ पाएपछि दीप प्रज्वलन गरिने

पाण्डव शर्मा
घोराही, ६ फागुन । षडयन्त्रपूर्वक फसाइनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उनको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत काठमाण्डौंले महरा निर्दाेष भएको प्रामाणित गरिसकेपछि उनी पूर्ण रुपमा निर्दाेष भएको र उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको पुष्टि भएको छ ।

दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिए ।

‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकास प्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ,’ प्रियासनले भने, ‘दाङको विकासका लागि सबै दलहरु एक हुनुपर्छ ।’

अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृयावादी तत्वहरुले षडयन्त्र रचेको बताए । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाइ छ ।

महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताए । उनले महरालाई फसाउनेहरुको क्रमशः भण्डाफोर गरिदै जाने प्रतिकृया दिए ।

यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् ।

दीप प्रज्वलन कार्यक्रमको संयोजन दीपेश पोख्रेलले सहभागी हुन समग्र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, युवा तथा सम्रग दाङवासी जनसमुदायलाई अनुरोध गरेका छन् ।