तुलसीपुर, ६ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विकासका योजनाहरु नेताको भन्दा पनि जनताको हुनुपर्ने वताएका छन् । वास्तविक आवश्यकताको वारेमा जनतालाई धेरै कुराको ज्ञान हुने भएकाले उनले जनताबाटै योजनाहरुको रेखांकन गर्नुपर्ने कुरामा जोड दिए ।
साथै नगरप्रमुख पाण्डेले वेलझुण्डीमा हुन थालेको प्रदेश एक्स्पो दाङ्गका लागि अवसर भएको वताएका छन् । प्रदेशभरिका जनताहरु आउने भएकाले दाङ्गलाई चिनाउनका लागि एक्स्पो महत्वपूर्ण माध्यम भएको उनको भनाई थियो ।
उपमहानगरपालिकाले तुलसीपुर भित्रका विभिन्न टोल विकास संस्था, विद्यालय, सामाजिक संघसंस्था लगायतका विभिन्न व्यक्तिसँग एक्स्पोको तयारीका वारेमा गरेको छलफल कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले सबैको सहकार्यबाट मात्रै एक्स्पोलाई भव्य वनाउन सकिने कुरामा जोड दिए । “हामीले गरेका राम्रा कामहरु देखाउनका लागि यो महत्वपूर्ण अवसर हो ” नगरप्रमुख पाण्डेले भने । उनले यस क्षेत्रको शिक्षा, कृषि, उद्योग,कला र संस्कृतिको उत्थानका लागि एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने समेत वताए । उनले घर निर्माण गर्दा नक्सा पास अनिवार्य रुपमा गर्नै पर्ने भएको भन्दै नक्सा पास नगरेर निर्माण गरिएका पुराना घरधनीहरुलाई केही समय दिइने समेत वताए ।
कार्यक्रममा वोल्दै उपप्रमुख माया शर्माले जनताका आवश्यकतालाई पहिलो प्राथमिकता दिएर काम अगाडि वढाएको वताइन् । उनले उपमहानगरपालिकालाई कस्तो वनाउने भन्ने कुरा जनताबाट छानिएर आउनुपर्ने वताइन् । वडा नम्वर ६ का विरेन्द्र वुढामगरले वजेट र योजना विनियोजनमा जनतालाई पनि साथमा राखेकोमा खुसी व्यक्त गरेका थिए ।