Indrenionline.com

भरतपुर खानेपानीमा चट्याङ लाग्दा क्षति

दाङ, २६ माघ । चट्याङले दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेका छन् ।

शनिवार दिउँसो हावाहुरी र पानीसगै परेको चट्याङले लागेर भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयका रहेको विद्युत मिटरबक्स, विद्युतीय तार, ब्याट्री, कम्युटर,टेलिफोन, जेनेरेटर र तीन वटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन ।

चट्याङले लाग्दा १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिए ।

खानेपानीका तीन वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी बितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले बताए ।  नयाँ उपकरण खरिद गरी सेवा सुचारु गर्नका लागि आइतवारदेखि नै काम थालिएको अध्यक्ष गौतमले बताए ।