उदय बीसी
दाङ, २४ माघ । नेपाल भ्रमण वर्ष २०२० को शुरुआतसँगै दाङको धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाममा आन्तरिक पर्यटक बढेका छन् । विगतमा धामको भ्रमण तथा तीर्थाटनका लागि दैनिक १ हजारको हाराहारीमा मानिस आउने गरेकोमा हाल १ हजार ५०० देखि २ हजार जनासम्म आउने गरेको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले बताएको छ ।
सकारले भ्रमण वर्ष २०२० शुरू गरेपछि पाण्डवेश्वर धाममा पनि सकारात्मक प्रभाव परेको आचार्यको बुझाइ छ । धामको प्रमुख आकर्षण भने यहाँ स्थापना गरिएको अग्लो त्रिशूल भएको उनले बताए । ‘त्रिशूल अवलोकन गर्न र त्यसलाई पाश्र्वमा पारेर तस्वीर खिच्न आउनेहरू धेरै हुन्छन्,’ उनले भने । ५५ फिट अग्लो, ८ हजार ११३ किलो तौल भएको पञ्चधातुको उक्त त्रिशूल विश्वकै अग्लो र ठूलो भएको समितिको दाबी छ ।
त्यस्तै मन्दिर परिसरमा निर्माण भएका १०८ गौमुखी धारा, ॐ कुण्ड, शिवालय मन्दिर, करीब ४ बिगाहा क्षेत्रफलमा निर्माण गरिएका कृत्रिम जलाशय, शिलामा कुँदिएका विष्णुपादुका, जलकुण्ड लगायत पाण्डवेश्वर धामका थप आकर्षण हुन् । दाङ र आसपासका सर्वसाधारणका लागि यो बिदा मनाउने स्थलको रूपमा समेत विकसित हुँदै गएको छ । पाण्डवेश्वर धाम दाङको मात्र नभएर नेपालकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएको पर्यटन प्रवद्र्धन समिति, दाङका संयोजक जितेन्द्रमान नेपालीले बताए । गुरुयोजना अनुसार यसको बृहत् विकासले पर्यटक आगमन बढाउन थप टेवा पुग्ने विश्वास उनको छ । सन् २०२० मा यस धाममा ५ लाख पर्यटक भित्रने अपेक्षा गरिएको छ ।
९८ करोडको गुरुयोजनाको काम तीव्र
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेवधाम धारापानीलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास एवं प्रवद्र्धन गर्न करीब रू ९८ करोडको गुरुयोजना बनाएर काम भइरहेको छ । गुरुयोजना अन्तर्गत धेरै काम भइसकेको र हाल धामदेखि करीब २ हजार ४०० मिटरमाथि सुनकोट पर्यटकीय क्षेत्रसम्म पुग्न सिँढीको निर्माण भइरहेको छ ।
यस्तै भ्रमण वर्ष २०२० स्मृति पार्क, सुनकोटमै स्तम्भ निर्माण, ३१ क्वीन्टलको घण्ट राख्ने लगायत काम भइरहेको पाण्डवेश्वर धाम व्यवस्थापन समितिका सचिव आचार्यले जानकारी दिए, उनका अनुसार ४९६३ सिँढीमध्ये २०० ओटाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, १२ बिगाहा क्षेत्रफलमा ‘शिव सरोवर’ निर्माण हुँदै छ । यो गुरुयोजनाको काम सम्पन्न भएपछि धाम नेपालकै महŒवपूर्ण धार्मिक पर्यटकीय क्षेत्र बन्ने विश्वास गरिएको छ ।