घोराही, १८ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को नवौं दिन दर्शकहरुको अत्याधिक भीड लागेको छ ।
महोत्सवमा अत्याधिक दर्शक बढेपछि बैकल्पिक बाटोबाट बाहिरिने व्यवस्था समेत गरिएको थियो । ‘अहिलेसम्म जुन बाटोबाट दर्शकहरु महोत्सवको मञ्चसम्म जानुहुन्थ्यो, त्यहीँ बाटोबाट निस्कने व्यवस्था गरेका थियौं,’ चेम्वरका महासचिव टिकादत्त खनाल ‘सागर’ ले भने, ‘शनिवार भने हामीले बाहिरिदा धेरै भीड हुने देखेर अर्को बैकल्पिक बाटोको पनि व्यवस्था गरेका थियौं ।’
पछिल्ला दिनहरु दर्शकहरुको संख्या बढिरहेकाले आफूहरु निकै उत्साहित भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताए । ‘महोत्सव हामीले सोँचेको भन्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुने देखिएको छ,’ उनले भने, ‘हाम्रो पहिलो अनुभव भए पनि महोत्सव निकै उत्साहपूर्वक सम्पन्न हुने देखिएको छ ।’
महोत्सवमा दुर्गेस थापाले गित गाउँदा युवाहरुले निकै हुटिङ गरेका थिए । बाल कलाकारहरु कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरीको घम्साघम्सीमा दर्शकहरु छमछमी नाचेका थिए । महोत्सव अन्य दिनको तुलना निकै भव्य पूर्वक सम्पन्न भएको उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए महोत्सवमा लोकप्रिय गायिका देवकाला बस्नेत, ढाकाराम पौडेल, दीक्षा सुनारको बबाल दोहोरीले दर्शकहरु छमछमी नाचेका थिए ।
यसैबीच शनिवार महोत्सव स्थलमा ११ जनाले रक्तदान गर्नुभएको छ । महोत्सवको स्टल नंको २११ मा राखिएको स्टलमा रञ्जिता राणा, उर्मिला हउजाली, बसन्ता शर्मा, हिरा पौडेल, सानु नेपाली, गु्ररुप्रासाद लम्साल, जनक कुमार विक, गोविन्द बस्याल, जीवन बस्याल, तेजमणी श्रेष्ठले रक्तदान गर्नुभएको कार्य समिति सदस्य एवम् प्राथमिकत स्वास्थ्य उपचार उपसमिति संयोजक सुशिला पौडेलले जानकारी दिए ।
आइतवार पशुपती शर्मा आउने
आइतवार महोत्सवमा कमला गाउँले, पशुपती शर्मा, भुमिका गिरी लगायत अन्य चर्चित गायक तथा कलाकारहरु आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक एवम् चेम्वरका सचिव कुमारराज श्रेष्ठले जानकारी दिए ।