Indrenionline.com

घोराहीको कृषि औद्योगिक महोत्सवको उद्घाटन पर्यटनमन्त्रीले गर्ने

घोराही, ४ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ को उद्घाटना सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गर्ने भएका छन् ।

महोत्सव उद्घाटन गर्न १० गते विहान मन्त्री भट्टराई तुलसीपुर विमानस्थलबाट दाङ आउने कार्यक्रम तय भएको महोत्सवका निर्देशक एवम् दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले जानकारी दिए । उद्घाटनका लागि निम्तो दिन अध्यक्ष महरा सहित कोषाध्यक्ष विकाश अग्रवाल र सह कोषाध्यक्ष लक्ष्मी अधिकारी काठमाडौं गएका थिए ।

महोत्सवका लागि घोराहीको कृषि सामाग्री सस्थानको प्राङ्गनमा स्टल निर्माण शुरु गरिएको छ । केही दिन भित्रै स्टल निर्माणको काम पूरा चेम्बरले जनाएको छ । महोत्सवमा दुई सय ५० भन्दा बढी स्टल रहने छन् ।

दाङ चेम्बर अफ कमर्सले स्थापन पछि पहिलो पटक दाङमा महोत्सव गर्न थालेको महासचिव टिकादत्त खनाल ‘सागर’ले जानकारी दिए । उनका अनुसार यो महोत्सवले नेपालमा मनाउन थालेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग पुग्ने छ । ‘महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु उत्पादन तथा हस्तकला, स्थानीय कला, सस्कृति, रहनसहन तथा भेष भुषाको संरक्षण गर्ने छ,’ उनले भने, ‘यहाँको आर्थिक गतिविधि बढाउनका लागि महोत्सवले सहयोग गर्ने छ ।’

महोत्सवमा स्थानीय कृषि उत्पादन तथा घरेलु उद्योगलाई महोत्व दिँदै स्थानीय व्यवसायीहरुलाई विशेष सहुलियत प्रदान गरिने छ । महोत्सवलाई सफल बनाउन महोत्सवका निर्देशक एवम् दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले सबैमा आग्रह गरेका छन् ।