दाङ, २८ पुस । दाङमा पहिलोपटक व्यवसायिक रूपमा मेवाखेती शुरू गरिएको छ । करीब २५ वर्ष विदेश बसेर फर्किएका बहादुरसिंह बुढामगर र ओमबहादुर ओलीले घोराही उपमहानगरपालिका–५, वसन्तपुरमा मेवाखेती शुरू गरेका हुन् । यसको खेतीका लागि उनीहरूले १० कठ्ठा जग्गा लिजमा लिएका छन् ।
करीब रू। ४ लाखको लगानीमा शुरू गरिएको मेवाखेती फस्टाउँदै गएको ओमबहादुर ओलीले बताए । मेवासँगै उनीहरूले बगैंचामा अम्बा, अनार, कागती लगायत फलफूल समेत लगाएका छन् । बिरुवा रोपेको ४ महीनामै उत्पादन दिने भए पनि आफूहरूले बेमौसमी बिरुवा रोपेकाले उत्पादन दिन केही ढिलो भएको उनको भनाइ छ । दाङ मेवा, कागती, अम्बा, अनार लगायत खेतीका लागि उपयुक्त ठाउँ भएको कृषि ज्ञान केन्द्र घोराहीका निमित्त प्रमुख भरत पोख्रेलले बताए ।