इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । दाङका तीन युवा व्यवसायीले जिल्लामै पहिलो आधुनिक ब्लक इट्टा उद्योग सञ्चालनमा ल्याएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ८ वनगाउँमा करीव रू. २ करोडको लगानीमा युवा व्यवसायी पिताम्वर शर्मा, कृष्णप्रसाद गौतम र प्रभात भण्डारीले ‘राप्ती इको ब्लक उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।
करीव एक विगाह जग्गा लिजमा लिएर उनीहरुले यो उद्योग स्थापना गरेका हुन् । उद्योग उत्पादनको प्रारम्भिक चरणमै भएपनि गएको भदौ १ गतेदेखि उत्पादन बजारमा ल्याइसकेको उद्योग सञ्चालक पिताम्बर शर्माले बताए ।
दाङमा विगतदेखि नै सिमेन्टका व्लक निर्माण गर्ने गरिएपनि स्वचालित (अटोमेटिक) मेसिनबाट इन्टरलकिङ् ब्लक, सी.एल.सी. ब्लक, पेभिङ ब्लक उत्पादन जिल्लाकै पहिलो उद्योग भएको शर्माको भनाइ छ । उद्योगले जर्मन प्रविधिको सी.एल.सी. ब्लक दैनिक ५००, इन्टरलकिङ् ब्लक २ देखि ३ हजार र पेभिङ ब्लक दैनिक २ हजार उत्पादन गर्दै आएको छ ।
आधुनिक खालको मेसिनबाट उत्पादन गरिएकाले यी इट्टाहरु वातावरणमैत्री, भूकम्प प्रतिरोधी र कम खर्चिलो रहेको उद्योग सञ्चालक कृष्णप्रसाद गौतमले बताए । उद्योगले विभिन्न साइजमा इट्टाहरु उत्पादन गर्दै आएको छ । यी इट्टाहरु प्रयोग गर्दा अन्य परम्परागत रुपमा माटोबाट बनाइएका इट्टाहरुभन्दा केही मंहगो देखिएपनि घर निर्माण गर्दा लाग्ने कूल खर्चमा ३० देखि ४० प्रतिशत खर्च कम लाग्ने सञ्चालक गौतमको भनाइ छ । उद्योगमा ३० जनाले रोजगार समेत पाएका छन् ।