दाङ, ९ पुस । दाङमा यस वर्ष महको उत्पादन घटेको छ । माहुरी पालन व्यवसाय महासंघ, दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा झण्डै ५० प्रतिशत मह उत्पादन घटेको छ । गत वर्ष जिल्लामा ५५० मेट्रिक टन मह उत्पादन भएको माहुरी पालन व्यवसाय महासंघ, दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए ।
वातावरण परिवर्तनका कारण महका मुख्य स्रोतका रूपमा रहेको बिरुवा नष्ट हुँदै जानु र जिल्लामा तोरीखेती हुने जग्गा प्लटिङ हुँदै जानुले पनि मह उत्पादनमा असर परेको महासंघका अध्यक्ष श्रेष्ठले बताए । विगतका वर्षहरूमा माहुरीपालक किसानले वर्षमा तीन पटकसम्म मह काडेकोमा यस वर्ष दुई पटक पनि मह काड्न नपाएको उनको भनाइ छ । दाङमा करीब ६०० किसानले व्यावसायिक माहुरी पालन गर्दै आएका छन् । ती किसानले करीव १७ हजार गोला माहुरी पालन गरेको तथ्यांक छ ।