तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई उद्यमीहरुको शहर वनाउने प्रतिवद्धता जनाएका छन् । उद्यमशिलताको विकास विना आर्थिक समृद्धि हुन नसक्ने भन्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा नै उद्यमशिलतालाई पहिलो प्राथमिकतामा राखेको वताए ।
उद्यम गर्न चाहनेहरुका लागि उपमहानगरपालिका आर्थिक,प्राविधिक र वजारीकरणको सहयोग गर्न तयार रहेको समेत उनको भनाई थियो । ‘पैसाको कमीले कसैको पनि उद्यमशिलता मर्न दिदैनौ’ नगरप्रमुख पाण्डेले प्रतिवद्धता व्यक्त गरे । उपमहानगरपालिकाले विभिन्न शाखा, महाशाखा मार्फत उद्यमशिल वनाउनका लागि काम अगाडि वढाएको जानकारी दिदै नगरप्रमुख पाण्डेले तालिमका लागि मात्रै तालिम भन्दा पनि त्यसलाई व्यवहारमा लगाउनुपर्ने वताए ।
कार्यक्रममा वोल्दै घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमवहादुर वलीले स्थानीय तहबाट विभिन्न उद्यमशिल व्यक्तिहरुको छनोट गरेर १० प्रकारका उद्यमशिल तालिम समेत दिइने वताए । गरिबी निवारणको मुल आधार उद्यमशिलता भएको भन्दै उनले युवाहरुलाई उद्यमशिल काममा लगाउनका लागि स्थानीय सकारको भुमिका महत्वपूर्ण हुने उनको भनाई थियो । उनले हरेक पालिकाले उद्यम विकासको नीति वनाएर कार्यान्वयन गर्नुपर्ने वताए ।
कार्यक्रम संयोजक लक्ष्मी चौधरीले कार्यक्रमको जानकारी गराउँदै उद्यमशिलता मार्फत वेरोजगारी हटाउनु कार्यक्रमको मुल उद्देश्य भएको समेत वताइन् । कार्यक्रम उद्यम विकास तथा सामाजिक मञ्चले आयोजना गरेको थियो । तुलसीपुर उपमहानगरपालिका भित्रमा यो वर्ष वडा नम्वर ६,८,९,१४,१६ र १७ मा कार्यक्रम लागु हुँदैछ ।
उद्यम विकास समित गठन
यसैविच नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उद्यम विकास समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, उद्यमी मंगली चौधरी,कार्यपालिका सदस्य दिपक कुमाल र शान्ता पुन, मनोनित महिला सदस्यमा डिला परियार र उद्योग प्रशासन शाखा प्रमुख रेखा शर्मा सदस्य सचिव रहेका छन् ।