धनिराम शर्मा (ऋतुविचार)
एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक भित्रिकोट दरबार पछिल्लोपटक ग्रामीण पर्यटनको आधार बन्दै गएको छ । ऐतिहासिक र साहसीक पर्यटनको उचित गन्तव्यको संभावना रहेको भित्रिकोट सरकारी संरक्षणमा ध्यान पुग्न थालेपछि क्रमश पर्यटनको आधार क्षेत्र बन्न थालेको हो, भित्रिकोटको पर्यटकीय संभाव्यता र संरक्षणको विषयमा पहल हुन थालेपछि स्थानीय निकाय नगरपालिका, जिविस, पर्यटन बोर्ड र पुरातात्विक विभागको ध्यान पुगेको स्थानीयले बताएका छन् ।
तत्कालीन चौबिसे राज्य अन्तरगत पर्ने भित्रिकोटमा चन्दवंशी राजाहरुले राज्य गरको डा. गितु गिरीले लेखेको इतिहासमा उल्लेख छ । तत्कालिन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपाल राज्यमा गाभेको थियो । युद्धबाट पराजित भएपछि तत्कालीन चन्द राजाका फौजहरु भित्रीकोट छोडी रोल्पाको क्यूरीमा सुरक्षित ठाउँमा गएको इतिहास पाइन्छ । तत्कालिन चौबिसे राज्य अन्तरगत पर्ने भित्रिकोटमा १४ राजाहरुले राज गरेको डाक्टर गितु गिरीको प्यूठान राज्यको इतिहास नामक पुस्तकमा उल्लेख छ । भित्रिकोटका प्रथम राजा लटराज हुन् भने १४ औ राजा रुद्रप्रताप चन्दराज हुन् । विसं १७६० को ताम्रपत्र अनुसार पृथ्वीपति नवाँे पुस्ताका हुन् उनी अघि ८ राजाहरुले राज गरेको डक्टर गिरीले आफ्नो पुस्तकमा उल्लेख गरेकाछन् । ऐतिहासिक महत्वको क्षेत्र भित्रिकोटमा पूर्वाधारमा केही सुधार भएपछि पर्यटकको रोजाईमा पर्न थालेको छ ।
भित्रिकोट पुग्न बाग्दुलाहुदै जान कच्ची सडक निर्माण भएको छ, भित्रिकोट दरबार पुग्नु अघि गुरुङ गाँउ रहेको छ,जहाँ गुरुङ सस्कृति र परिकारको मजा लिन सकिन्छ। भित्रिकोटको अवलोकन गर्न पर्यटन आउन थालेपछि गुरुङगाँउमा होमस्टे संचालनमा ल्याउन लागेको स्थानीय रुमबहादुर गुरुङले बताए । गुरुङ समुदायको घाटु नाँच स्थानीय परिकार र नाँचगानको स्वाद लिन पाइने उनले बताए । पाँच घरमा होमस्टे संचालन गर्ने तयारी भैरहेको उनले बताए, भित्रिकोटको ऐतिहासिक महत्वको अध्ययन अवलोकन गर्न तथा मनोरम दृष्यको अवलोकन गरि मनोरन्जन लिन पनि मानिसहरु पुग्ने गरेको गरुुङले बताए ।
भित्रीकोटबाट प्यूठानका अधिकांश ठाँउहरुको अवलोकन मात्र होइन पूर्वउत्तरतिर धवलागिरी र पश्चिममा सिस्ने हिमालको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक साहसीक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न सरकारी प्रयत्नहरु जारी छन्, तर प्याराग्लाडीङ संचालन गर्न परिक्षण भैसकेको भएपनि हालसम्म कुनै व्यवसायीले हात हाल्न नहालेको स्थानीय व्यवसायीहरु बताँउछन् ग्रामीण पर्यटन प्रवद्र्धनको लागि पछिल्लो समयमा केही पहल भएपछि भित्रिकोटको परिचय खुल्दै गएको उनीहरुले बताए । ग्रामीण पर्यटनलाई व्यवसायीकरण गर्न सरक्षण र प्याराग्लाइडिङ संचालनको लागि पहल आवस्यक भएको उनीहरुको धारणा छ । भित्रिकोटको चर्चा हुन थालेपछि पाहुनाको रोजाईमा परेको भएपनि कति पर्यटक आए त्यसको कुनै अभिलेखीकरण नभएको उनीहरुले बताए ।
( लेखक नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय अध्यक्ष हुनुहुन्छ । )