दाङ, ४ पुस । दाङको लमहीदेखि घोराही हुँदै तुलसीपुर सडक खण्ड चार लेन बनाउने काम शुरू भएको छ । पहिलो चरणअन्तर्गत घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोक र नारायणपुरको झारबैरादेखि दुधराससम्म र तुलसीपुर क्षेत्रमा बेलझुण्डीदेख हात्तीखौवासम्म काम शुरु भएको हो ।
तर, सम्झौताको करीब १ वर्षपछि काम शुरू भएको छ । निर्माण कम्पनीले सम्झौताको मितिले ३० महीनाभित्र लमही–घोराही हुँदै तुलसीपुरसम्मको करीब ४९ किलोमिटर सडकलाई विस्तार गरिसक्नुपर्नेछ । निर्माण कम्पनीले रू। १ करोड २१ लाख ८२ हजारमा सडक विस्तारको जिम्मा लिएको छ ।
आवश्यक कच्चापदार्थको परीक्षणमा ढिलाइ हुँदा सम्झौताभन्दा ढिला काम शुरू भएको आयोजनाले बताएको छ । सो सडकखण्ड अन्तर्गत पर्ने घोराही बजार क्षेत्रमा भने दुई लेन मात्रै सडक हुनेछ । सो बजार क्षेत्रमा सडकबीचको डिभाइडरबाट दायाँबायाँ १५÷१५ मिटर फराकिलो भइसकेकाले सो क्षेत्रमा दुई लेन मात्रै बन्नेछ ।