Indrenionline.com

घोराही कारागार : जेलभित्रै ‘स्कूल पढ्छन्’ कैदी बन्दीहरु

उदय बीसी
दाङ, ३ पुस । कारागारभित्रै स्कूल सञ्चालन भएको छ भन्दा अच्चमा लाग्न सक्छ तर दाङको घोराही कारागारमा कैदी बन्दीहरुलाई ‘ज्ञानज्याती स्कूल’ नाम दिएर कैदी बन्दीहरुलाई शिक्षा दिन थालिएको छ । कारागारले विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदी बन्दीहरुलाई कारागारभित्र ‘ज्ञानज्योती स्कूल’ सञ्चालन गरेर शिक्षा दिन लागेको हो ।

कारागार सजाया दिने थलो मात्रै नभएर गलत बाटोमा लागेको व्यक्तिलाई सुधार गरेर लैजाने सुधार केन्द्रको रुपमा विकास गर्न र त्यहाँ वसेर उनीहरुले शिक्षा पनि प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ स्कूल सञ्चालन गरिएको घोराही कारागारका प्रमुख एवं जेलर विष्णुप्रसाद पाण्डेले बताए । ‘कारागार भित्रै हामीले ज्ञानज्योती नाम दिएर कक्षा सञ्चालन गरेका छौं’, उनले भने ।

कारागार व्यवस्थापन अनुसार कारागारमा सञ्चालन गर्नुपर्ने साक्षरता कक्षा भएपनि कैदी बन्दीहरुको माग अनुसार अग्रेजी भाषाको कक्षा पनि सञ्चालन गरिएको जेलर पाण्डेले जानकारी दिए । जेल जीवन विताइ रहेका कम्तीमा प्रविनता प्रमाणपत्र तह उर्तिण गरेको राम्रो आचारण भएको व्यक्तिलाई शिक्षकको रुपमा नियुक्त गरेर कक्षा सञ्चालन गरिएको छ । जसअनुसार सो व्यक्ति अर्थात ‘शिक्षक’ ले पढाएवाफत तलव भने पाउदैन तर मासिक ५ दिनको कैद मिनाह सहित वर्षमा २ महिना कैद मिनाह पाउने व्यवस्था रहेको पाण्डेले बताए ।

चालु आर्थिक वर्षको साउनेखि कक्षा सञ्चालन गरिएको साक्षरता र अग्रेजी भाषा गरी दुई वटा कक्षामा १५ देखि २० जना कैदी विद्यार्थी संलग्न रहेका छन् । कक्षा दैनिक १ देखि २ घण्टासम्म सञ्चालन हुने जेलर पाण्डेले बताए । घोराही कारागारको क्षमता ७० जना अट्ने भएतापनि ३०८ जना कैदी बन्दी रहेका छन् ।