Indrenionline.com

प्लास्टिक खरिद गर्दै घोराही उपमहानगरपालिका

दाङ, ३० मंसिर । घोराही उपमहानगरपालिकाले नगरभित्रको फोहोर व्यवस्थापनका लागि प्लास्टिक र प्लास्टिकजन्य फोहोर खरीद गर्ने भएको छ । यसका लागि बजेट समेट छुट्याइएको उपमहानगरपालिकाका फोहर व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले बताए ।

‘फोहोर व्यवस्थापनको एउटा मुख्य चुनौतीको रूपमा प्लास्टिक व्यवस्थापन रहेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्दै उपमहानगरको आम्दानीको स्रोत बनाउने उद्देश्यले हामीले अब नगरवासीले प्रयोग गरेका प्लास्टिक उनीहरूबाटै किन्नेछौं ।’ उनका अनुसार चालू आर्थिक वर्षमा प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु खरीदका लागि उपमहानगरले रू। ७ लाख बजेटसमेत विनियोजन गरेको छ ।

उपमहानगरले प्लास्टिक खरीदका लागि उपभोक्तासँग आग्रहसमेत गरिसकेको छ । खरीद प्रक्रियालाई सहज बनाउन उपमहानगरको १७ नम्बर वडामा कार्यायोजनासहितको समिति समेत गठन भइसकेको केसीले जानकारी दिए । कार्यायोजना समितिमा कुन टोलमा कुन व्यक्तिलाई जिम्मेवारी लिने, संकलन केन्द्र कहाँ राख्ने, कुन दिनमा प्लास्टिक उठाउनेलगायतका जिम्मेवारी बाँडफाँट गरिएको छ ।

उपमहानगरपालिकाका १०, १३, १४, १५, १६ र १७ नम्बर वडामा बढी प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर उत्पादन हुने भएकाले यी वडालाई प्राथमिकता दिइएको छ । यी वडामा पनि क्रमशः कार्यायोजनासहितको समिति गठन गरिने उपमहानगरले बताएको छ । प्लास्टिक खरीद कुन संस्थामार्फत गर्ने भनेर कार्ययोजना बन्दै गरिएको शाखा प्रमुख केसीले बताए ।

उपमहानगरले खरीद गरेको प्लास्टिक विक्रीका लागि हेटौंडामा रहेको प्लास्टिक उद्योगसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए । उपमहानगरले नगर क्षेत्रको फोहोरलाई व्यवस्थापन गर्न घोराही–१६ स्थित ल्यान्डफिल साइटमा फोहोरबाट ग्यास उत्पादनको योजना पनि बनाएको छ, जसका लागि पूर्वाधार निर्माण भइरहेको छ । नगरक्षेत्रमा दैनिक २३–२४ टनसम्म फोहोर उत्पादन हुन्छ । यसमा प्लास्टिकजन्य फोहोर झण्डै २५ प्रतिशत रहेको उपमहानगरको भनाइ छ ।