दाङ, २३ मंसिर । दाङको घोराही उपमहानगरपालिका भित्र सञ्चालन हुने अटो रिक्साले मनपरी तरीकाले यात्रुहरुबाट भाडा असुल गरेको जनगुनासो आएपछि अब रिक्सामा भाडादर अनिवार्य रुपमा टाँस्नुपर्ने भएको छ ।
जस अनुसार २०७५ साल कार्तिक ११ गते देखि लागु भएको भाडादरलाई तीन दिनभित्र अनिवार्यरुपमा अटो रिक्सामा टाँस्नुपर्ने र सोही अनुसार भाडा लिनुपर्ने, २०७६ साल मंसिर २२ गते सम्म घोराही उपमहानगर भित्र रोड परमिट लिएका अटो रिक्सालाई उपमहानगरमा १५ दिनभित्र दर्ता गर्नुपर्ने निर्णय भएको छ ।
अटो रिक्सा व्यवस्थापन समितिका संयोजक एवं नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अटो रिक्सा दर्ता गर्दा अनिवार्य प्रालिमा दर्ता भएर आउनुपर्ने, नगर क्षेत्रमा सञ्चालन गर्न अनिवार्य रुट परमिट लिएको हुनुपर्ने र अन्य क्षेत्रका लागि रुट परमिट लिएकालाई पूर्णरुपमा नगर क्षेत्रमा रोक लगाउने निर्णय गरेको छ । साथै तोकिएका भन्दा बढी भाडा असुल गरे पहिलो पटकलाई एक सय रुपैयाँ र पार्किङ स्थल भन्दा अनेत्र पार्किङ गरे एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।