दाङ, २० मंसिर । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालित डिप्लोमा तहको सूचना प्रविधि (आइटी) कक्षालाई थप प्रभावकारी बनाउन आज शुक्रवार विद्यालयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ बिषयका रुपमा विद्यालयले सञ्चालन गरेको आइटी कक्षालाई थप प्रभावकारी बनाई सञ्चालन गराउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिएका छन । छलफलपछि कम्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला थप तथा प्रभावकारी रुपमा सञ्चालन गर्ने लगायतका सहमति भएको छ । कार्यक्रम बोल्ने विद्यार्थीहरुले कक्षालाई थप प्रभावकारी बनाउनका लागि विभिन्न सवाल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार पाण्डेयले आइ टि कक्षालाई थप प्रभावकारी बनाउनका लागि वडा कार्यालयले कम्युटर प्रयोगशालामा कम्युटर लगायतका सामान थप गर्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले कक्षालाई बढी प्रयोगात्मक र सिकाइ केन्द्रीत बनाइ उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वसन्ता पौडेलले विद्यालयकै पहिचान रहने गरी ल्याइएको युग सुहाउदो नयाँ बिषयलाई अझ प्रभावकारी बनाइ सञ्चालन गर्नका लागि विद्यालय प्रशासनले योजनावद्ध ढंगले लागेको बताउनुभयो । कार्यक्रममा सहायक प्रधानाध्यापक प्रकाश डाँगी, ब्यवस्थापन समिति सदस्य हुमा डि.सी, शिक्षकहरु अनिल रजौरे, सुरेन्द्र रिजाल, पवन अधिकारी, यम डाँगी, हिरालाल भण्डारी, कुलशेखर शर्मा, बिशाल चौधरी, रुपक चन्द, सुवास के.सी, भानुभक्त घर्ति लगायतकाले बोल्नु भएको थियो ।