Indrenionline.com

दाङमा १६ उम्मेदवारको जमानत जफत

दाङ, १९ मंसिर । मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङका १६ जना उम्मेदवारको जमानत जफत भएको छ। दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो।

प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन क्षेत्रमा २४ हजार २ सय ८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विमला खत्री (ओली) विजयी भएकी थिइन्। भने नेपाली काँग्रेसका केशवराज शर्मा (आचार्य) ले १९ हजार १ सय ८२ मत ल्याउएका थिए। तीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ।

राप्रपाका भुपाल रावतले २ सय २५, राप्रपा संयुक्त छोटीलाल थारूले १ सय ३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १ सय ३, साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् भने काँग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन्। उपनिर्वाचनमा ४५ हजार ७ सय १८ मत खसेको थियो। निर्वाचनमा ७ सय ९७ मत बदर भएको थियो।

घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा सदर मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले बताए ।