दाङ, ४ मंसिर । निर्माण कम्पनीसँग सम्झौता भएको १० महीनासम्म पनि लमही–तुलसीपुर सडक विस्तारको काम शुरू हुन सकेको छैन । उक्त सडक चार लेनको बनाउन भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजनाबीच २०७५ पुस १३ गते सम्झौता भएको थियो । ३० महीनाभित्र काम सम्पन्न गरिसक्ने सम्झौता भए पनि कम्पनीले अझै काम थालेको छैन ।
लमहीदेखि घोराही हुँदै तुलसीपुरसम्म करीब ५० किलोमिटर सडक चार लेनमा विस्तार गर्न ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री जिल्लाकै बबई नदी, ग्वारखोला, राम्रीलगायत क्षेत्रको प्रयोग गरिने योजना कार्यालयले बताएको छ । इन्जिनीयर हमालका अनुसार सडक विस्तारको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा लमही–सर्रा र दोस्रो चरणमा दुधरास–तुलसीपर खण्डको काम गरिनेछ । सम्भवतः यसै हप्ताभित्र पहिलो चरणको काम शुरू हुने उनले जानकारी दिए ।
उक्त सडक खण्ड चार लेनको बनाउन ठेकेदार कम्पनीले १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा जिम्मा लिएको छ । काम अझ शुरू नभएकाले निर्धारित अवधिमा सम्पन्न गर्न चुनौती देखिएको छ । यसले लागत पनि बढाउने अनुमान गरिएको छ । सडक खण्ड अन्तर्गत पर्ने घोराही बजार क्षेत्रको सडक भने दुई लेनको मात्र हुनेछ । यस क्षेत्रमा सडक बीच ९डिभाइडर०बाट दाँया–बाँया १५र१५ मिटर कायम गरी विस्तार भइसकेकाले तत्काल ४ लेनको बनाउन सम्भव नभएको हो ।