इन्द्रेणी संवाददाता
दाङ, २८ कार्तिक । दाङको लमही नगरपालिका वडा नं. ८ गिद्धनीयाकी गीता चौधरीलाई बिगतमा भोगको कहाली लाग्दो आर्थिक कठिनाइ सम्झदा मन झसङ्ग भएर आउँछ ।
गीताका अब ती दुःखका दिन गएका छन् । गीतालाई नकसैले रुपैयाँ सहयोग गरेको हो नत ठूलो राशीको चिट्टानै परेको हो । उनले यो जीवन परिवर्तन गर्नमा दाङकै ग्रामीण महिला उत्थान केन्द्र नामक लघुवित्त संस्थाले दिएको ऋण हो । आठ वर्ष पहिले शुरुमा ८ हजार रुपैयाँ ऋण लिएकी गीताले घरमै सानो किसाना पसल गरिन् । आत्मविश्वासका साथ परिश्रम गरेर उनले जस्वनमा ठूलो आर्थिक रुपान्तरण ल्याएकी छन् ।
‘जब मेरो आर्थिक अबस्था कमजोर थियो, श्रीमान सीकलसेलको विरामी हुनुहुन्थ्यो त्योबेला कसैले सहेग गरेनन्’, उनले भनिन्, ‘गाउँघरमा पैसा सापटी माग्न जाँदासमेत छिमेकिले ढोका थुनेर बस्थ्ये ।’
त्यतिमात्रै होइन आफ्नै पाखुरा बजाएर खान्छु भनेर भन्दा पनि काम गर्न समेत गाउँलेले दिदैनथे । तर अहिले उनका ती दिन फेरिएका छन् । लघुवित्तबाट लिएको ८ हजार ऋणबाट किराना शुरु गरेकी चौधरीले अहिले २ हजार ब्रोइलर कुखुरा, ३० वटा वंगुर, २५० हाँस, १५ कट्ठा जग्गामा व्यवसायीक खुर्सानी खेती गरेकी छन् । उनले एक जनालाई मासिक रू. १० हजार पारिश्रमिक दिएर रोजगार दिएकी छन् ।
यी व्यवसायीहरुलाई सञ्चालन गरेर उनले वार्षिक रू. १० लाख बढी आम्दानी गर्छिन् । व्यवसाय मात्रै होइन यसबाटै गरेको आम्दानीले ४ कट्ठा ११ घुर जग्गा समेत किनेकी छन् । उनी भन्छिन्, ‘गरे के हुँदो रहेनछ र पहिले गाउँघरमा ५ सय रुपैयाँले पत्याउदैनथ्ये तर अहिले केही काम परेमा मलाई सहयोगी बनाउछन् खुसी लाग्छ ।’
त्यसो त ग्रामीण महिला उत्थान केन्द्रबाटै सञ्चालन भएको लघुवित्त कार्याक्रमबाटै लिएको सस्तो कर्जाले घोराही उपमहानगरपालिका १८ की गीता बुढाले व्यवसायिक टमाटर खेती गरेर राम्रो आम्दानी गरेकी छन् । शुरुमा १३ कट्ठा जग्गा लिजमा लिएर टमाटर खेती गरेकोमा अब ३ विगाह जग्गामा टमाटर खेती गर्ने हैसियतमा पुगेको उनी बताउछन् । बुढाले ३ विगाह क्षेत्रफलमा लगाएको व्यवसायिक टमाटर खेतीबाट वार्षिक २० लाख आम्दानी गर्ने गरेकी छन् । यी दई गीता त उदाहरण मात्रै हुन । उत्थान केन्द्रको लघुवित्त कार्यक्रमबाट दाङमा हजारौं महिलाको जीवन आर्थिक रुपान्तरण आएको छ ।