इन्द्रेणी संवाददाता
दाङ, २२ कार्तिक । सरकारले सूचीकृत गरेको गरिमा जातको धान नफल्दा दाङका ३०० भन्दा बढी किसान निराश भएका छन् । जिल्लाको उर्वर भूमि मानिने देउखरी क्षेत्रमा करीब १६० बिगाहामा लगाइएको उक्त जातको धानमा बाला नै नलागेपछि किसानहरू मर्कामा परेका हुन् ।
धान रोपेको ५ महीना पुग्न लाग्दा समेत नपसाएपछि आपूmहरू चिन्तित भएको स्थानीय किसान छविलाल कोपिलाले गुनासो गरे । ‘धान लगाएको १४० दिन बित्तिसक्यो, अब त फल्ने आशा नै मारिसक्यौं,’ उनले भने । किसानले यसको क्षतिपूर्ति पाउनुपर्ने र आगामी वर्षमा यस्तो समस्या आउन नदिन बीउको चेकजाँच हुनुपर्ने उनले बताए ।
उचित क्षतिपूर्ति दिन माग गर्दै पीडित ३१९ किनानले कृषि ज्ञान केन्द्र दाङमा निवेदन दिएका छन् । जिल्लाका यी क्षेत्रमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भारतको बहराइजस्थित रिनोभा सीड साइन्स इन्डिया प्रालिबाट गरिमा धानको बीउ ल्याएर विक्रीवितरण गरेको थियो ।