इन्द्रेणी संवाददाता
दाङ, १ कार्तिक । दाङमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता कार्यकर्ताबाट प्रहरीले हतियार एवं महत्वपूर्ण दस्तावेजहरु वरामद गरेको छ । प्रहरीले पक्राउ परेका २१ जना नेता तथा कार्यकर्ताहरुबाट ६ थान पेस्तोल, त्यसमा लाग्ने गोली, नगद रकम, चन्दा उठाउन प्रयोग गरिने रसिदलगायत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै विभिन्न राजनीतिक दर्शनका कितावहरु १३ थान, विभिन्न कपी तथा डायरीहरु १६ थान, दिपराज सेर्पाइलीको नामको ग्लोवल आइएमइको बैंक चेक २ थान, तिलक वहादुर गुरुङ र दिपक सेर्पाइलीको सयुक्त नाममा रहेको ग्लोवल आइएमइकै चेक २ थान र सामान वोक्ने झोलय २१ थान वरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
बुधवार राती करीव १ बजेको समयमा दाङको राजपुर गाउँपालिका ४ मुङ्ग्रेठामा बैठकस्थिलबाट पार्टीका पश्चिम कमाण्ड चन्द्रबहादुर चन्द –विप्लवका दाजु) सहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले कमाण्डसहित राप्तीका जिल्ला इञ्चार्ज र नेता कार्याकर्तालाई पक्राउ गरेपनि विप्लव समूहलाई ठूलो धक्का पुगेको अनुमान गरिएको छ ।