उदय बीसी
दाङ, २६ असोज । दाङका एक युवाले व्यवसायीक रुपमा फुल खेती गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ झिंग्रौराका लोकेन्द्र रोकामगरले व्यवसायीक रुपमा सयपत्री फुलखेती गरेका हुन् ।
अहिले वार्षिक ४८ हजार रुपैयाँ जग्गा भाडामा लिएर भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फुलको व्यवसायीक खेती गरेको उनले बताए । जिल्लाको सबैभन्दा ठूलो घोराही बजार नजिकै फुलखेती गरेपछि आफ्लाई बजारका लागि समस्या नभएको रोकाले बताउछन् । ‘दैनिकजसो फुलको अडर आएकै छ, उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या छैन’, उनले भने, ‘बरु माग भन्दा उत्पादन नै कम छ ।’
पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरेपनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महिना फुल उत्पादन गर्ने बताए । गत वर्ष करीव २७ कट्टामा सयपत्रीको व्यवसायीक खेती गरेका उनले १ लाख चोखो आम्दानी गरेको बताए । यस वर्ष प्राविधिक कमजोरीका कारण फुल खेतीमा केही रोग लागे पनि आम्दानी राम्रै हुने उनको अपेक्षा छ । तिहार नजिकिदै गर्दा सयपत्रीको माग अत्यधिक वढेको रोकाको भनाइ छ ।
विशेष गरी आफूले उत्पादन गरेको सयपत्री जिल्लाभित्रै खपत हुने र अन्य जिल्लाहरुबाट समेत माग आउने गरेकाले कैलालीसम्म पनि आफूले फूल पठाउने गरेको बताए । दशै तिहार वाहेकका अन्य समयमा पनि विभिन्न कार्यक्रम, विवाह, पूजालगायतका लागि फुल विक्री हुने गरेको छ । अहिले प्रतिसयपत्री माला १ सय रुपैयाँमा विक्री भइरहेको उनले जानकारी दिए ।