उदय बीसी
दाङ, २३ भदौ। दाङको पर्यटन उद्योगमा झन्डै रू। २ अर्बको लगानी भएको छ । पर्यटन उद्योगका रूपमा रहेका जिल्लाका ठूला तथा साना होटल तथा रेस्टुराँमा रू १ अर्ब ९१ करोड ९५ लाख ३९ हजार ५०० लगानी भएको हो ।
जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकाभित्र ३८५ ओटा पर्यटन उद्योग दर्ता भएका छन्, जसमा रू १९ करोड ८४ लाख १२ हजार ६०० लगानी भएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाभित्र १७१ पर्यटन उद्योगमा रू ९ करोड २८ लाख २२ हजार २००, लमही नगरपालिकाभित्र ११३ पर्यटन उद्योगमा रू ६ करोड ७४ लाख ७ हजार ५००, गढवा गाउँपालिकाभित्रका ५० पर्यटन उद्योगमा रू १ करोड ५४ लाख ६८ हजार र राप्ती गाउँपालिकाभित्रका ५७ पर्यटन उद्योगमा रू ३ करोड ५० लाख १ हजार ९०० लगानी भएको छ ।
त्यसैगरी शान्तिनगर गाउँपालिकाभित्रका १८ पर्यटन उद्योगमा रू ७८ लाख ४० हजार, दंगीशरण गाउँपालिकाभित्रका ३ पर्यटन उद्योगमा रू ६८ लाख ४७ हजार र ववई गाउँपालिकाभित्रका १८ पर्यटन उद्योगमा ५८ लाख रुपैयाँ लगानी भएको छ । पछिल्लो समय जिल्लामा होटल तथा रेस्टुराँ दर्ता गर्ने क्रम बढेको उद्योग अधिकृत शर्माले बताए । ‘कार्यालयमा दर्ता हुन आएका होटल तथा रेस्टुराँको तथ्यांकलाई हेर्ने हो भने बढेको देखिन्छ’, उनले भने । गएका आर्थिक वर्षमा मात्रै ११९ ओटा होटल तथा रेस्टुराँ दर्ता भएका छन् । जसबाट जिल्लाको पर्यटन उद्योगमा रू। १२ करोड १२ लाख लगानी थपिएको छ ।
सानो लगानीमा सञ्चालन हुने होटल तथा रेस्टुराँ मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने गर्दछन् । तर करोडौंको लगानीमा सञ्चालन हुने ठूला होटलहरू भने सीधै भ्याटमा दर्ता हुने गरेका छन् । यसरी जिल्लामा ठूला लगानीका होटल पनि छन् । जिल्लाका ठूला होटल भिग्रेली भिलेज, होटल माला इन, सिटी प्लाजा, राप्ती सुपरलज, होटल हाइवे लगायत होटलमा करीब रू १ अर्ब ५० करोड लगानी छ ।