तुलसीपुर, ४ भदौ । तुलसीपुर उपमहानगरपालिकामा अव्यवस्थित रुपले फलफुल तथा अन्य व्यापार गर्ने व्यापारीहरुलाई व्यवस्थापन गरिएको छ । वजारमा सडक र फुटपाथ अतिक्रमण गरेर अव्यवस्थित रुपमा रहेका पसल तथा ठेलाको व्यवस्थापनका लागि व्यापारीहरुसँग सहमति भएको हो ।
तुलसीपुर वजारभित्र १ सय वढी व्यापारीहरुले अव्यवस्थित तवरले व्यापार गर्दै आएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले वताए । उनले एकसातासम्म व्यापारीका विचमा छलफल पश्चात निष्कर्षमा पुगेको पनि वताए ।
उनले ठेला व्यवस्थापन पश्चात अव्यवस्थित पार्किङमा ध्यान दिइने कुरामा जोड दिए । ‘वजारलाई व्यवस्थित पार्ने सवालमा सबैलाई मिलाएर लैजान्छौ ’ माइकलले भने । उनले सडक र फुटपाथ कब्जा गरेर व्यापार गर्ने अधिकार कसैको पनि नभएको भन्दै व्यवस्थापन पछि पनि जथाभावि व्यापार गर्नेलाई कडा कारवाही गर्ने कुरामा जोड दिए ।
वजार व्यवस्थापन नहुँदा विभिन्न दुर्घटना निम्तिरहेको थियो । उपमहानगरपालिकाले अव्यवस्थित रुपमा व्यापार गरेको भन्दै ठेला जफत गरेको थियो । आफुले व्यापार गर्ने ठेला नै जफत भएपछि व्यापारीहरु आक्रोशित भएका थिए । ठेला व्यवस्थापनसँगै उनीहरु खुसी भएका छन् । उपमहानगरपालिकाले तरकारी तथा फलफुल वजार व्यवस्थापनका लागि आधुनिक तरकारी तथा फलफुल वजार निर्माण गरिरहेको छ ।