Indrenionline.com

दाङमा एक वर्षमा घरेलु उद्योगको १ अर्ब ३८ करोड लगानी थपियो

उदय बीसी
दाङ, २३ साउन । दाङमा एक वर्षमा १ हजारभन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाका विभिन्न स्थानमा विभिन्न प्रकृतिका १ हजार ७२ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले बताएको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी ५ सय ३५ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । यस प्रकृतिका उद्योगहरुमा पोल्ट्री फर्म, गाई भैसी फर्म, बाख्रापालन, मौरीपालन, वंगुरपालन, माछापालन र बहुद्देश्यीय सहकारी संस्थाहरु पर्दछन् ।

त्यसैगरी सेवा मूलकमा २ सय २९, उत्पादन मूलकमा १ सय ८८, पर्यटनमा १ सय १९ र खनिजमा १ वटा उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत एवं सूचना अधिकृत वामदेव शर्माले बताए ।

त्यस्तै कृषि तथा वनजन्य उद्योगमा ६४ करोड ७१ लाख ३२ हजार ८ सय ६७ रुपैयाँ लगानी थपिएको छ भने पर्यटन उद्योगमा १० करोड ११ लाख ६० हजार लगानी थपिएको छ । त्यस्तै उत्पादन मूलकमा ३९ करोड ९० लाख ५५ हजार ८ सय ८० रुपैयाँ, सेवा मूलकमा २० करोड ३१ लाख ६० हजार ९ सय रुपैयाँ र खनिजमा ९ करोड रुपैयाँ लगानी भएको छ । त्यस्तै पर्यटन उद्योगमा १२ करोड १२ लाख ७९ हजार ४ सय र खनिजमा ९९ लाख लगानी भएको छ । उद्योग थपिएसँगै लगानी पनि १ अर्ब ३८ करोड ५२ लाख ९ हजार ४७ रुपैयाँ थपिएको छ ।

उद्योग दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्छ भन्ने सचेतनाको बृद्धिसँगै वर्षेनी उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको उद्योग अधिकृत शर्माले बताए । ‘उद्योग दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्छ र उद्योग सञ्चालन गर्दा राज्यको तर्फबाट पनि सहयोग हुन्छ भन्ने सचेतना बढेसँगै दर्ता गर्ने क्रम बढेको छ’, उनले भने ।

त्यति मात्रै होइन पछिल्लो समयमा सरकारले दर्ता विना सञ्चालनमा आएका उद्योगहरुलाई कडाइ गरेपछि उद्योग दर्ताको क्रम बढ्को कार्यालयको भनाइ छ ।।