शंकर के सी
सल्यान, २ साउन । सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढी राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक (सई) जगदिश ऐरले जानकारी दिए ।
उनका अनुसार २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन् । ३४५० मोटरसाइकललाइ कारवाहि गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रसनि ऐरले बताए ।
यस्तै १ हजार ६ सय ४१ ट्रक कारवाहीमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयां संकलन भएको छ । यस्तै १ हजार ३ सय २१ बसलाय कारवाही गर्दा ७ लाख ३५ हजार, २ हजार १ सय ५५ जीप तथा कारलाई कारवाही गर्दा एक लाख ४० हजार पाँच सय र १ हजार ३ सय ९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको छ ।
१३ पुरुष, ४ महिला र १ बालकको मृत्यु
यसैविच गत साउन देखि असार सम्म १८ जनाले सवारि दुर्घटनामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने २० जनाले ज्यान गुमाएका थिए ।
आ.व २०७५/०७६ मा १३ जना पुरुष, ४ जना महिला र एक जना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साथै सवारि दुर्घटनामा २५ जना सक्त र १५३ जना सामान्य घाइते भएको प्रसनि ऐरले जनाए ।