इन्द्रेणी संवाददाता
दाङ, १३ जेठ । नेपाली पत्रकारिता जगतमा सहिद कृष्ण सेन इच्छुकको योगदान महत्वपूर्ण भएको वक्ताहरुले बताएका छन् । सेनको १७ स्मृतिको अवसरमा आज दाङको घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले सेन सत्यको पक्ष र अन्यायको विपक्षमा बोल्ने र लेख्ने एउटा निडर पत्रकार भएको उल्लेख गर्दै उनको त्यो सिद्धान्तलाई सबैले शिरोधार्य गर्नुपर्नेमा जोड दिए ।
प्रेस सेन्टर दाङमा स्थापना गरिएको सहिद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई सम्मान गरिएको छ भने नेपाल पत्रकार महासंघ दाङशाखामा स्थापना गरिएको सेन स्मृति पत्रकारिता पुरस्कारबाट महासंघका पूर्वअध्यक्ष केएल पीडितलाई सम्मान गरिएको छ । त्यस्तै जनसंस्कृतिक महासंघमा स्थापना गरिएको सहिद कृष्ण सेन इच्छुक स्मृति साहित्य पुरस्कारबाट साहित्यकार निर्मल आचार्य (सौगात) लाई सम्मान गरिएको छ ।