Indrenionline.com

जीवन बदल्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

दाङ २३ बैशाख । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागु भएपछि दाङका दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् ।

विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकामा कार्यक्रम लागू भएपछि स्थानीयहरु लाभान्वित भएका भएका मात्रै छैनन्–कार्यक्रमलाई आफ्नो जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् ।

प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत दाड. जिल्लाका बबई, राजपुर र बंगलाचुली गाउँपालिकाले योजना छनौट गरेर स्थानीयको जीवन सुधार्ने अभियानको थालनी गरेका छन् ।

तीनवटै गाउँपालिकाहरुले कार्यक्रमका लागि छनौटमा परेका योजनाहरु सञ्चालन गरिरहेको जिल्ला कार्यक्रम सहजकर्ता श्रीधरकुमार राजभण्डारीले जानकारी दिए । राजभण्डारीका अनुसार कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई यस वर्ष ४५ लाख ९० हजारका दरले बजेट वितरण गरेको छ ।

समाजमा रहेका बिपन्न, दलित तथा पछाडि परेका समुदायका लागि रोजगारमुलक कार्यक्रमदेखि विभिन्न सहयोग प्रदान गर्नेसम्मका कार्यक्रमहरु रहेको कार्यक्रम सहजकर्ता राजभण्डारीले जानकारी दिए ।