तुलसीपुर, ९ चैत । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई समाजमा सबैका सामुमा पुर्याउनका लागि ज्येष्ठ नागरिक मनोपरामर्श तथा सम्मान कार्यक्रमको सुरुवात गरेको छ ।
अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने वताए । “ज्येष्ठ नागरिकलाई वोझ ठान्नु हुँदैन, उनीहरुकै कारण अहिलेको विकास सम्भव भएको हो ” उनले भने । नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिकका अनुभवहरु समाजको सम्पत्ति समेत भएको वताए ।
उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि विभिन्न अभियानको समेत सुरुवात गरिएको नगरप्रमुख पाण्डेले वताए । ज्येष्ठ नागरिक सरोकार समिति दाङका भोलानाथ योगीले आधुनिकताको नाममा ज्येष्ठ नागरिकप्रतिको सम्मान घट्दै गएको वताए । जीवनभर सन्तानका लागि योगदान दिने ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने उनको कथन थियो ।